हाँसो -स्व.स्वप्नील स्मृति

त्यसो त हाँस्न कहाँ पाइन्छ र -

आइन्दा दाँत नदेखाउनू !
चुप रहनू !!
क्षितिजजस्ता ओठहरु नखुलाउनू !!!

बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार
निकम्मा ‘बु्रस’ः
अध्यादेशले गीजा घोटेर
फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा ।

आइन्दा आँखामा योवनको मुस्कान नबाल्नू !
ढुक्ढुकीको गति राम्ररी सम्हाल्नू !!

तर, हाँसेकै छन् जङ्गलमा फूलहरु
म्यूजियममा टाँगिएका बादशाहका खोपडीहरु
हाँसेकै छन् दन्तेकथाहरुमा
कथित देवी अनि शूम्भ निशूम्भहरु ।

नेता महानगरीको गाईजात्रामा हाँसिरहेछन्
जनता गाईजात्राको महानगरीमा हाँसिरहेछन्

सरकार
मुस्कुराइरहेका यूवकका हिमालजस्ता दाँत गनिरहेछ
र, गनिरहेछ गोलीका दानाहरु ।

वेश्याहरू
सम्भोगपछिका भद्दा लिङ्गहरु सम्झेर हाँसिरहेछन्
सरकार देखेर
म पनि त हाँसिरहेछु ।